दफा १०१
पक्षले साक्षी उपस्थित गराउनु गर्ने
(१) अदालतमा दायर भएका मुद्दाका साक्षी अदालतले तोकेको दिन सम्बन्धित पक्षले उपस्थित गराउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास मुद्दामा त्यस्तो मुद्दा दायर गर्दा कै बखत प्रतिवादीहरु उपस्थित भएमा वादी, प्रतिवादी वा दुवै पक्षले मुद्दा दायर गर्दा कै बखत आ–आफनो साक्षी प्रमाणहरु अदालतमा पेश गर्न सक्ने छन् ।
(३) उपदफा (१) वा (२) बमोजिम साक्षी पेश गर्दा अनुसूची–१ र अनुसूची–२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाका सरकारी पक्षको साक्षीलाई सम्बन्धित अनुसन्धान अधिकारी वा निजको कार्यालयले सरकारी वकिल कार्यालय मार्फत उपस्थित गराउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम साक्षी बुझ्न तोकेको तारिखका दिन उपस्थित नहुने साक्षीलाई वातेल गरिदिनु पर्छ ।
तर काबू बाहिरको परिस्थिति परी उपस्थित हुन नसकेकोमा पक्षले सोही व्यहोरा खुलाई निवेदन दिएमा अदालतले त्यस्तो साक्षी बुझ्ने अर्को तारिख तोक्न सक्नेछ ।
(५) यस संहिताको अनुसूची–१ वा अनुसूची–२ मा उल्लिखित कुनै कसूर सम्बन्धी मुद्दामा सबै प्रतिवादीहरु उपस्थित नभएको कारण साक्षी परीक्षणको प्रकृया शुरु नभएकोमा कुनै पक्षले आफूले दिएको साक्षी तत्काल उपस्थित नगराएमा पछि उपस्थित गराउन नसकिने कारण देखाई त्यस्ता साक्षीहरु तत्कालै उपस्थित गराई वकपत्र गराउन अनुरोध गर्न सक्नेछ ।
(६) उपदफा (५) बमोजिम अनुरोध भएकोमा र त्यस्तो कारण मनासिब भएमा अदालतले सोको कारण खुलाई त्यस्तो साक्षीको तत्कालै वकपत्र गराउन सक्नेछ ।
(७) उपदफा (६) बमोजिम साक्षीले गरेको वकपत्रमा उपस्थित भएसम्मका मुद्दाका पक्ष विपक्षलाई जिरह गर्न दिनु पर्नेछ र त्यस्तो अवस्था रहेनछ भने त्यस्तो वकपत्रको व्यहोराको हकमासम्म पछि उपस्थित पक्षले खण्डन गर्न सक्नेछ ।